बिहीबार, वैशाख १३, २०८१

१० महिनामा भित्रियो ८ खर्ब ११ अर्ब !

नेपालखोज २०७९ जेठ २७ गते १८:५७

काठमाडौं । मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स अर्थात् विप्रेषण रकममा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई आठ खर्ब ११ अर्ब ७९ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव ६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव एक प्रतिशतले बढेकोे प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार दुई सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ दशमलव चार प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा एक सय ८५ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर शून्य दशमलव शून्य एक प्रतिशतले वृद्धि भई नौ खर्ब तीन अर्ब ६२ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया