एकै दिन दुई ठाउँमा बाघको आक्रमण

नेपालखोज २०७९ जेठ २७ गते १८:१४

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ । ती घटनामा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ ।

भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो । स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाइवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईवाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उनको छाती र कुममा चोट लागेको छ । आजै बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा)लाई अर्काे बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते थिङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले आजै नियन्त्रणमा लिएको हो । उक्त टोलीले सोही क्षेत्रबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

उक्त बाघलाई निकुञ्जको सौराहा सेक्टरमा रहेको खोरमा राखिने छ । उक्त भाले बाघको उमेर भने खुलेको छैन । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया