नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर समझदारी, स्वाप रेसियो कति ?

काठमाडाैं । दुई वाणिज्य बैंकहरु मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जरमा जाने समझदारी भएको हो । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।
हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको छ।
इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। त्यसपछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलो हुनेछ।
चुक्ता पुँजी झण्डै ३३ अर्ब पुग्ने
दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ ।
दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ । अघिल्लो हप्ता यी दुई बैंकको मर्जरको हल्लाले मेगा बैंकको सेयरमा सकारात्मक सर्किट लागेको थियो ।
इन्भेष्टमेन्ट बैंकले भने गत वर्ष हिमालयन बैंकसँग मर्जरको सहमति गरेको थियो। उक्त सहमतिअनुसार मर्जरमा जान नसकेपछि गत हप्तादेखि मात्रै सेयरबजारमा कारोबार हुनथालेको हो । त्यसपछि लगातार सेयर मूल्यमा गिरावट हुँदै आएको छ ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । सोहीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर समझदारी गरेको हो ।

प्रतिक्रिया