रामकली छ दिनदेखि सम्पर्कविहीन

नेपालखोज २०७९ जेठ २९ गते ८:२९

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् । रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु¥याएका थिए ।

यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन् । परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् ।

‘त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्’, मनोहरले भने, ‘अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।’ खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन ।

रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उनी १५ वर्षीय छोरासँग बस्दै आएकी छन् । ‘रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ’, जेठाजु गजेन्द्र रानाले भने, ‘फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन ।’

प्रतिक्रिया