आइतबार, असार ८, २०८२

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वयबीच यस्तो समझदारी !

नेपालखोज २०७९ जेठ २९ गते १५:५९

काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगारलगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायत विषयमा छलफल भएको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोभिड-१९ को विशेष परिस्थितिमा कर्मचारीहरूले समझदारीपूर्ण सहयोग गरेको बताए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरूबाट राम्रो सहयोग पाइरहेको बताए ।

मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितिमा परेको चाप रहेको अध्यक्ष अग्रवालले बताए । ‘तरलताको समस्या हुँदा उद्योगीहरूले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरू स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरूले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन,’ उनले भने । आन्तरिक उत्पादनको प्रवर्द्धन गरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोड दिँदै आएको बताए । औद्योगीकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागु गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आबद्ध भएको बताए । उनले श्रमिकहरूको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्वका नीतिका कारण उद्योगीहरूले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताए ।

कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दीपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रीता पोखरेल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आबद्ध १० वटा राष्ट्रिय ट्रेड युनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया