लोसपाले भन्यो- ११ बुँदे मागसहितको ज्ञापनपत्र कता गयो ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरी आफ्ना मागको स्मरण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा गएको लोसपाको प्रतिनिधिण्डलले यही जेठ २४ गते बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रबारे ध्यानाकर्षण गराएकाे हाे ।
प्रधानमन्त्रीसमक्ष बुझाइएको मागको ‘फलोअप’ को रुपमा भेटगरी छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले आर्थिक वर्ष ०७९/८० को विनियोजन विधेयक संसद्बाट पारित भएलगत्तै लोसपाका माग सम्बोधन गर्ने बचन दिएका नेता कर्णले बताए । नेता कर्णले भने, ‘हामी लोसपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनबारे फलोअपस्वरुप भेटघाट गरेका हौँ, बजेटपछि मागको सम्बोधन हुन्छ भन्नुभएको छ ।’
लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष ठाकुरका साथमा नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कर्णलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया