शनिबार, जेठ ४, २०८२

नेपाली विद्यार्थी बोलाउँदै मुम्बई युनिभर्सिटी

नेपालखोज २०७९ जेठ ३० गते १८:५९

काठमाडौं । नेपाली विद्यार्थी उच्च शिक्षाका निमित्त लाखैं खर्चेर अष्ट्रेलिया, युरोप, अमेरिका पुग्ने गरे पनि नेपालको छिमेकी भारतमै उक्त मुलुकका सरह गुणस्तरीय शिक्षा सम्भव छ । उच्च शिक्षामा तेस्रो मुलुकको विकल्प भारतको मुम्बई विश्वविद्यालय हुने सरोकारवालाहरु बताउँछन् ।

मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरू मध्ये एक हो । भारतको महाराष्ट्र राज्यकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो यो विश्वविद्यालय करिब ६ सय वर्गकिलोमिटरमा फैलिएको छ । महाराष्ट्रको ठाणे जिल्लादेखि सिन्धुदुर्ग जिल्लासम्म यसको फैलावट रहेको छ । मुम्बई विश्वविद्यालयमा नेपाली विद्यार्थीका रोजाईका विषयहरु पठनपाठन हुने आइतबार राजधानीमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. सुहाष पेड्नाकरले जानकारी दिए ।

उनले आफ्ना विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र परिपक्व नागरिकमा रूपान्तरण गर्ने नीति रहेको बताए । काठमाडौंको रोयल सिंङ्घी होटेलमा आयोजित उक्त कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै उपकुलपतिले भने, ‘हाम्रो विश्वविद्यालय विश्व स्तरका सुविधाहरू सिर्जना गर्न र कायम राख्न प्रतिबद्ध छ, नेपाली विद्यार्थी हामीलाई आफ्नै मुलुकका नागरिकजस्तै लाग्छ र अहिलेसम्म जेजति नेपाली विद्यार्थीले यहाँबाट उच्च शिक्षा हासिल गरेका छन्, उनीहरु यस विश्वविद्यालयका ब्रान्ड एम्बेसडरका रुपमा रहेको पाएका छौं ।’

मुम्बई युनिभर्सिटीमा हाल ५६ विभागसहित १२ विशेष केन्द्रहरू, ७८१ सम्बद्ध कलेजहरू, २ मुख्य क्याम्पसलगयत ‘स्कूल अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस’ सञ्चालनमा रहेको विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा चिफ एम्बेसडर जीतेश नौलखाले जानकारी दिए ।

उनका अनुसार मुम्बई युनिभर्सिटीमा नेपाली युवा विद्यार्थीको पछिल्लो समय आकर्षण बढ्दो क्रममा रहेको छ । शिक्षण–सिकाइ, अनुसन्धान, परामर्श, र नवप्रवर्तन यस विश्वविद्यालयका सबल पक्ष रहेको नौलखा बताउँछन् ।

कार्यक्रममा एडुल्याब एजुकेसनल एक्सचेञ्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक गान्धीले विश्वका विभिन्न मुलुकका विद्यार्थीको आकर्षको केन्द्र रहेको युनिभर्सिटी अब मुम्बईमा नेपाली विद्यार्थीका लागि सहज हुने बताए ।

भाषा संस्कृतिमा निकटताका कारण नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि तेस्रो मुलुक जानुभन्दा मुम्बईमा राम्रो भएको उनको भनाइ छ ।

प्रतिक्रिया