तेल र मसलाबिना जिब्रै रसाउने अचार बनाउँछिन् पूर्णकला

नेपालखोज २०७९ जेठ ३१ गते ११:४३

चितवन । तेल र मसलाबिनाको अचारअचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाैं । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौंला । भरतपुर महानगरपालिका ४, आनन्दपुर बस्ने पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन् ।

१० वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गर्थिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् । सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्किइन्।

त्यसपछि पुस्तक व्यवसाय गरेकी उनले दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परिन् । दुर्घटनामा परि गम्भीर घाइते बनेकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् । चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहेकी छन् ।

खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले जनाइन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनले आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छन् । कृषि विषय अध्ययन गर्दै आएका उनका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन् । व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनकाे योजना छ ।

अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको बताए । पूर्णकलाले भनिन् , ‘स्वास्थ्यबर्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।’ परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनकाे छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनेले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताइन् । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ ।

उनले भनिन् , ‘सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाै ।’ एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिएका छन् ।

रासस

प्रतिक्रिया