मलको विकल्पमा खेतमा ‘ढैँचा’ उमार्दै किसान

कञ्चनपुर । गोबर मल र रासायनिक मलको विकल्पमा कतिपय कृषकले आफ्नो खेतमा ‘ढैँचा’ नामको बिरुवा उमारेर मल बनाउन थालेका छन् । बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्ने गरेको उनीहरुको भनाइ छ ।
कञ्चनपुरका कृषक किसन चौधरीले अनुभव सुनाउनाए, ‘गोबर मल र रासायनिक मलको अभाव भएको बेला खेतमा यो बिरुवा उमारेर मलको रुपमा प्रयोग गर्दा बाली सप्रिन्छ । जोतेको खेतमा यो बिरुवाको बीउ छरेर सिँचाइ गर्नुपर्छ, २०-२५ दिन पुगेपछि तयार हुने बोटलाई माटोमै सडाउँदा मल बन्छ ।’
रासायनिक मलको सट्टा कतिपय किसानले धान रोपाइँ गर्नुअघि खेतमा यो बिरुवाको बोट तयार पारेर मल बनाउन थालेको उनले बताए । किसान एग्रोभेट धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटीले माटोको उर्बरा शक्ति बढाउनका लागि पछिल्ला वर्षमा कतिपय किसानले यो ढैँचाको खेती गर्न सिकेको बताए ।
उनले भने, ‘माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ । मुमको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ ।’ रासायनिक मलको प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी खोज्ने किसानको बानीका कारण ढैँचा र मुमको खेती गरिने क्षेत्रफल त्यति धेरै नरहेको उनले बताए ।
पछिल्ला वर्षमा घरमा गाई, भैँसीलगायतका पशु चौपाया पाल्ने घट्दै जाँदा पर्याप्त गोबर कम्पोष्ट मलको समेत अभाव हुँदै गएको छ भने रासायनिक मलको प्रयोग बढ्दै गएकामा खेती गर्ने समयमा यो मलको समेत अभाव देखिने गरेको छ । यस वर्ष धान रोपाइँको समय सुरु भइसक्दा कैलालीलगायतका जिल्लामा रासायनिक मलको अभाव भएको छ ।
सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलाली जिल्लाका लागि डिएपी र युरिया मलको मौज्दात छैन । एकपटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्कोपटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँलगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको कृषकको अनुभव छ ।
धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयका प्रमुख नबलसिंह बोगटीले सुदूरपश्चिमका लागि छुट्याइएको कोटाको मलसमेत समयमै ल्याउन व्यवसायीले नमानेपछि मलको मौज्दात सकिएको बताए । कृषि सामग्रीको धनगढी कार्यालयको सिफारिसपत्र लिएर कतिपय कृषि सहकारी संस्थाका प्रतिनिधि आफैँ भैरहवाको कृषि सामग्रीको कार्यालय पुगेर मल ल्याउन थालेका छन् ।
कृषि सहकारी संस्थामार्फत सरकारी अनुदानको रासायनिक मल कृषकलाई बिक्री वितरण हुने गरेको छ । हालै भैरहवामा पुगेको रासायनिक मलको परिमाणमध्ये सुदूरपश्चिमका लागि दुई हजार १६९ मेट्रिक टन कोटा छुट्याइएको बताइएको छ । उनले भने, ‘त्यहाँ पनि पर्याप्त मल छैन । वर्षभरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मेट्रिक टनभन्दा बढी मलको आवश्यकता पर्छ ।’-रासस

प्रतिक्रिया