आइतबार, जेठ ६, २०८१

नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो

नेपालखोज २०७९ जेठ ३१ गते १२:१६

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज मस्को पुगेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँचदिने औपचारिक भ्रमणमा निस्किएका मन्त्री गहतराज दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् ।

मस्को विमानस्थलमा मन्त्रीसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दूतावास तथा एनआरएनका प्रतिनिधिले स्वागत गरेका छन् । रसिया सरकारका खेलकुदमन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस पुगेका मन्त्री गहतराजले आजै खेलकुदमन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

पाँचदिने भ्रमणका क्रममा मन्त्री अथकले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ मा हस्ताक्षर गर्ने कार्यक्रम छ । साथै रुसले खेलकुद क्षेत्रको विकासका लागि अवलम्बन गरेको नीति तथा खेलकुद विश्वविद्यालय सञ्चालनको प्रक्रियाबारेसमेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम छ ।

भ्रमणकै दौरान मन्त्री गहतराजले अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिवलगायत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा छलफल गर्नेछन् । मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री गहतराजको टोली असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया