संसदीय छानबिन समिति माग गर्दै एमालेको संसद् अवरोध

नेपालखोज २०७९ जेठ ३१ गते १९:२३

काठमाडाैं । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् । त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वका विषयमा जवाफ दिएका थिए ।

एमाले सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफमा चित्त नबुझेको र सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नसक्ने बताए । भोलिको बैठकमा पनि विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया