नेपालको खेल क्षेत्रमा सहयोग गर्ने रुसको प्रतिबद्धता

नेपालखोज २०७९ असार १ गते १४:४७

काठमाडौं । रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरूलाई तालिम दिने प्रतिबद्धता जनाएका छन् । उनले दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा सहयोग गर्न आफूहरू इच्छुक रहेको जनाएका छन् ।

रुस भ्रमणमा रहेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज सम्मिलित टोलीसँगको भेटका क्रममा भासिलिभिचले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटवार्तामा दुईदेशीय हितको विषयमा पनि छलफल भएको थियो ।

भेटमा मन्त्री गहतराजले नेपाल र रुसबीचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । उनले खेललाई कूटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रुसले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए ।

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता ब्यक्त गर्दै मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरूको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा ‘रुस–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

आगामी दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री अथकले जोड दिएका थिए । भेटकै क्रममा मन्त्री गहतराजले रुसका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिएका छन् ।

उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले अब नेपाल–रुस सम्बन्ध खेल पर्यटन र खेल कूटनीतिमा समेत आधारित हुने बताएका थिए । यसैबीच नेपाली प्रतिनिधि मण्डलले रुसका मार्सल आर्टस संघका अध्यक्ष र अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिएका छन् ।

छलफलमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पूर्वाधार, बक्सिङ एमेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रुसी सरकार सकारात्मक रहेको बताएका थिए । मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री गहतराज पर्सि (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया