विद्युत् लाइन भूमिगत गर्दा खुशिबु नयाँ बजार क्षेत्रका खानेपानी पाइपलाइनमा क्षति

नेपालखोज २०७९ असार १ गते १५:१०

काठमाडौं । काठमाडौंको खुशिबु नयाँ बजार क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्दा क्षति भएको छ । क्षति भएका खानेपानीका पाइपलाइनको मर्मत एवं पुनःस्थापनाका लागि प्राधिकरणबाट क्षतिपूर्ति रकम प्राप्त नहुँदा त्यस क्षेत्रका सडकको पुनःस्थापनामा समेत ढिलाइ भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता संघका अध्यक्षलगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनःस्थापना गर्न माग गरेकामा उनले प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको क्षतिपूर्ति रकम प्राप्त नभएका कारण क्षति भएको खानेपानीको काम सम्पन्न गर्न नसकेको र त्यसले गर्दा सडकको समेत पुनःस्थापनामा ढिलाइ भइरहेको स्पष्ट गरेका छन् ।

आयोजना निर्देशकले खुुशिबु क्षेत्रमा करिब २८ किलोमिटर खानेपानी पाइपलाइन बिच्छ्याइएको मध्ये विभिन्न स्थानमा गरेर करिब १४ किलोमिटर खानेपानी पाइपलाइन विद्युत् लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको र त्यसको मर्मत सम्भारका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

प्राधिकरणसँग भएको सहमतिअनुरूप विद्युत् लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको खुशिबु क्षेत्रको रोपवे सडकको पहिलो चरणको मर्मत सम्भारको कार्य सम्पन्न गरी खर्चको सोधभर्नाका लागि प्राधिकरणलाई पत्राचार गरे पनि भुक्तानी नभएका कारण अर्को चरणको मर्मतसम्भारको काम अगाडि बढ्न नसकेको उनले बताए । भेटकै अवसरमा आयोजना निर्देशकले वर्षायामलाई ध्यानमा राखी विद्युत् लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएकामध्ये मुख्य सडकलाई पहिलो प्राथमिकतामा राखी चरणबद्ध रूपमा यथाशीघ्र सडक मर्मतसम्भार गर्न र प्राधिरणबाट सहमतिबमोजिम क्षतिपूर्ति रकम प्राप्त गर्न ताकेता गर्न मातहतका पदाधिकारीहरुलाई निर्देशन दिए ।

विद्युत् लाइन भूमिगत गर्दा क्षति पुगेका पाइपलाइनको मर्मतसम्भार एवं पुनःस्थापनाका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले पीआईडीलाई भुक्तानी दिने सम्बन्धमा पीआईडी र नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाबीच यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया