आइतबार, वैशाख २८, २०८२

खेलकुद सहयोग कार्ययोजनामा रुस–नेपाल सम्झौता

नेपालखोज २०७९ असार २ गते ११:४३

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रुसी सरकारको औपचारिक निमन्त्रणामा रुस भ्रमणमा रहेका मन्त्री गहतराज र त्यहाँका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामा हस्ताक्षर गरेका हुन् ।

भ्रमणको दोस्रो दिन गहतराजसहितको प्रतिनिधि मण्डल र रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । छलफलपश्चात् नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्न छात्रवृत्ति सहयोगलगायत विषय समेटिएको रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा दुवै देशका खेलकुदमन्त्रीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरूलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रुस उत्साहित भएको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

मन्त्री गहतराजले नेपाल र रुसबीचको ६६ वर्ष लामो कूटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन् । उनले खेललाई कूटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रुसले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए । साथै मन्त्री गहतराजले रुसका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिए ।

उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले अब नेपाल–रुस सम्बन्ध खेल पर्यटन र खेल कूटनीतिमा समेत आधारित हुने बताए । यसैबीच नेपाली प्रतिनिधि मण्डलले रुसका मार्सल आर्टस संघका अध्यक्ष र अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए ।

छलफलमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पूर्वाधार, बक्सिङ एमेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताएका थिए ।

मन्त्रालयका सचिव रेग्मीसहित रुस भ्रमणमा रहेका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया