भीम रावलले भने- एसपीपी सम्झौता गरे नेपाल शक्तिराष्ट्रको कठपुतली बन्छ

नेपालखोज २०७९ असार २ गते १७:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने बताएका छन् । एसपीपीप्रति असहमति जनाउँदे नेता रावलले नेपालले स्टेट एसपीपी गरेमा शक्तिराष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालमा विहीबार पुर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी गरे । नेपाल एसपीपीको दिशातर्फ गए नेपालअमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ ।

रावलले भने, ‘नेपालको संविधान मिचिन्छ । स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ , ठुला शक्ति राष्ट्रको तिव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठुलो खतरा उत्पन्न हुन्छ ।’

नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रता र संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति भएमात्रै राष्ट्रहित मान्न सकिने बताए । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको चेतावनी दिएका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा भएको र उक्त कार्यक्रम रणनीतिक नभएको भनेको स्मरण गराउँदै नेता रावलले आपत्ति जनाए । तर, नेपाली सेनाले दिएको स्पोष्टोक्तिबाट भने आफु खसी भएको उनको भनाई छ ।

उनले एसपीपी अमेरिकाको हिन्द प्रशान्त रणनीति २०१९ को अंग भएको दाबी गरे । उनले यसबाट अमेरिकाले विभिन्न देशसँग सैनिक सम्बन्ध कायम गरेर सैनिक क्षमता बढाइने कुरा प्रष्ट रुपमा सम्झौतामा उल्लेख गरेको दाबी गरे ।
अमेरिकीलाई आफ्नो देशको माया लागेजस्तै नेपालको माया नेपालीलाई भएको उनले सुनाए ।

तत्कालिन नेकपाको स्थायी कमिटिको बैठकमा ३ वर्षअघि नै एसपीपीको सदस्य भएकोबारे चलेको हल्लामा बास्तविकता के हो भनेर पार्टीमा प्रश्न उठाउने आफु पहिलो व्यक्ति भएकोसमेत उनले स्मरण गराए । अमेरिकाको राजदुतावासले भनेझंै आफ्नो पालामा केही नभएको उनले स्पोष्टोक्ति दिए ।

उनले सरकारले मुल एमसीसी सम्झौता त संसदमा १ प्रतिशत मात्र पेश गरेको भन्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले होहल्लाका बीचमा जबरजस्ती छलफल गर्न नदिएर संसदबाट सम्झौता अनुमोदन गरेको आरोप लगाए ।

प्रधानमन्त्री देउवाले नाटक मञ्चन गर्दै १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिकासँग कुरा गरेको भनी झुक्काएको पनि आरोप लगाए । व्याख्यात्मक घोषणालाई अमेरिकाले मानेको पत्र संसदमा राख्न आफुले माग गरेको तर अझैसम्म प्रधानमन्त्रीले उक्र पत्र दिन नसकेको उनको गुनासो छ ।

देशमाथिको बाह्य हस्तक्षेप सहेर बस्ने व्यक्ति सच्चा नेपाली नहुने उनको भनाई छ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सदस्यहरुले देशका लागि धेरै योगदान दिएको स्मरण गराउँदै एक पटकका सेना, एक पटकका सुरक्षाकर्मीहरु सधैंको सेना हुने पनि सुनाए ।

इतिहासविद प्रा.डा. पे्रमसिंह बस्न्यातले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपाली जनतालाई भ्रममा नराखी वास्तविकता बाहिर ल्याउनु सरकारको प्रमुख दायित्व रहेको बताए । बस्न्यातले एसपीपीमा नेपाल कुनैपनि हालतमा सहभागी हुन नहुनेमा जोड दिए । उक्त कार्यक्रममा नेपाल सहभागी भए देशको अस्तित्वमाथि नै संकट आईपर्ने उनको टिप्पणी छ ।

एमसीसीको भन्दा अहिले परिस्थिति फरक रहेको भन्दै उनले राष्ट्रघाती एसपीपी संझौताको बिरुद्धमा सर्वसाधारण, पुर्व सुरक्षाकर्मीहरु, सबै एकजुट भएर नेपाली भूमिबाट बुट बजार्न दिन नहुने तर्क गरे । नेपाली धर्तिको माटो बचाउनुपर्ने अवस्था आएको उनले सुनाए

प्रतिक्रिया