पहिरोमा घाइते भएकाको हेलिकोप्टरबाट उद्धार

नेपालखोज २०७९ असार ३ गते १३:३९

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा ७, खेवाङको तेम्फुमा गएराति गएको पहिरोमा सख्त घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘अहिले हेलिकोप्टरमार्फत सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दै छन्,’ पोखरेलले भने, ‘थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।’ पहिरामा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिए । -रासस

प्रतिक्रिया