शुक्रबार, चैत १६, २०८०

कुन उमेरको व्यक्तिले कति घण्टा सुत्नुपर्छ ?

डा. हेमराज कोइराला २०७९ असार ४ गते ११:११

निद्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्त्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ त्यति नै महत्त्व मिठो, गहिरो र पर्याप्त निद्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात शिशु, दुदे बालक होस वा लक्का जवान तन्देरी, तिल–चामले अधबैशे होस वा पिण्ड खान ठिक्क परेका बुढीमाउ निद्रा सबै र सधैका लागि प्राथमिक आवश्यकता हो । मिठो निद्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणलीहरूलाई बलियो बनाउँदछ । तर यी फाइदाहरू प्राप्त गर्न हामीले लिएको निद्रा मिठो र गहिरोका साथसाथ पर्याप्त पनि हुन आवश्यक छ । ठिक मात्रामा नसुतिएको निद्राले शारीरिक, मानसिक एवं भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ । यसर्थ हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समूहका व्याक्तिले निम्नानुसारको न्यूनतम निद्रा लिन आवश्यक छ ।

विभिन्न उमेर समूहहरूलाई सिफारिस गरिएको सुत्ने समय :
निद्राको आवश्यकता र महत्त्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । यस तालीकामा प्रत्येक समूहका स्वस्थ व्यक्तिहरूका लागि रातिको निद्राको न्युनतम अवधिको सिफारिस गरिएको छ र कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।

उमेरको दायरा र सुत्नुपर्ने अवधि :
१. नवजात शिशु (० देखि ३ महिना) : १४ देखि १७ घण्टा
२. शिशु (३ देखि १२ महिना) : १२ देखि १६ घण्टा
३. दुधे बालक (१ देखि २ वर्ष) : ११ देखि १४ घण्टा
४. बालक (३ देखि ५ वर्ष) : १० देखि १३ घण्टा
५. कुमार (६ देखि १२ वर्ष) : ९ देखि १२ घण्टा
६. किशोर (१३ देखि १९ वर्ष) : ८ देखि १० घण्टा
७. वयस्क (२० देखि ६० वर्ष) : ७ घण्टा भन्दा माथि
८. वृद्ध (६१ देखि ६५ वर्ष) : ७ देखि ९ घण्टा
९. बयोवृद्ध (६६ भन्दा माथि) : ७ देखि ८ घण्टा
स्रोत : अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन
-विशेष जानकारी : प्रतिकूल स्वास्थ्य स्थिति भएका व्याक्तिहरूका लागि निद्राको अवधि यसभन्दा फरक हुनसक्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया