आइतबार, पुष ६, २०८२

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित !

नेपालखोज २०७९ असार ४ गते ९:४१
गेट्टी इमेज

न्युयोर्क । विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

विशेषगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।

‘दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,’ युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ ।

विशेष गरेर हिंसात्मक घटनाहरुका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रूस-युक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ । रासस/एएनआई

प्रतिक्रिया