मंगलबार, पुष ८, २०८२

‘एसपीपी राष्ट्रको हितमा छैन, अस्वीकार गर्नुपर्छ’

‘हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रा कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ’

नेपालखोज २०७९ असार ४ गते १५:३७

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अहिले नेपालका सबै दल एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको बताए । उनले भने, ‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिबारे अझै प्रस्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपाल आफैंले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौं । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । उनले भने, ‘सामान्य रूपमा हेर्दा २०७२ मा नेपालमा महाभूकम्प गएका बेलामा प्रस्ताव राख्ने काम भएको देखिन्छ । त्यतिबेला अहिले आएकोजस्तो मस्यौदा त्योस्तरको थिएन होला भन्ने नै मलाई लाग्छ । विपतका लागि सहयोग मागिएको हो जस्तो लाग्छ, त्यो पनि अहिले डिटेलमा छलफल र धारणा राख्न अपुरो हुन्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा त्यो भएको हो भन्ने पनि छ । त्यसपछि केपी ओली प्रधानमन्त्री हुनुभयो, उहाँ प्रधानमन्त्री भएको १५ दिनपछि प्रधानसेनापतिले पत्राचार गरेको भन्नेछ । केपी ओलीले त सुशील कोइरालाको पालामा निर्णय भएको थियो, मलाई थाहा दिइएन । मैले हस्ताक्षर गरेको छैन भन्नुभएको छ । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड हुँदा पनि पत्राचार गरियो भन्ने छ । त्यो प्रस्ताव राष्ट्रिय, राष्ट्रियता, शान्ति र सु–व्यवस्थाको पक्षमा छैन । प्रस्ताव हेर्दा ज्यादै राष्ट्रघाती देखिन्छ । सबै पार्टी पास गर्नुहुन्न भन्नेमा आम सहमत छन् ।’

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरूले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । उनले भने, ‘राजनीतिक दलहरू, जो चुकेको भए पनि, जानेर वा नजानेर भए पनि यो गलत थियो भन्ने विषय अब समीक्षाको विषय बन्नुपर्छ । संसदीय समितिले डिटेल माग गरेको छ । अब दलहरूले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी छ । यद्यपि हाम्रा विचार फरक छन् । राजनीति र कार्यक्रम फरक छन् । तर, हाम्रो लक्ष्य एउटै हो–त्यो भनेको देशलाई समृद्ध बनाउने हो । अनि सुशासन कायम गर्ने हो । यसको लागि दलहरू बेलाबखतमा सँगै बसेर छलफल गर्नुपर्छ ।’

रायमाझीले दलहरूले अब आपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे । उनले भने, ‘यसो गर्दा देशले समृद्धि पाउँदैन् । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेन्डामा छलफल गर्नुपर्छ । जसरीपनि सरकारमा जाउँ, जोसित पनि मिलेर जाउँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन । अहिले देशमा समाजवादमा कसरी पुग्न सक्छौं भन्नेतर्फ कम चर्चा भएको छ । सत्ता प्राप्तिका लागि जस्तोप्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाइएको छ । एसपीपी अस्विकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे टिप्पणी गर्न आवश्यक नरहेको जिकिर गरे । उनले भने, ‘उहाँ अब कुन एजेन्डा बोकेर जाँदै हुनुहन्छ, भित्री रूपमा एसपीपी बोकेर जाने हो भने त्यो सान्दर्भिक देखिँदैन । तर, उहाँको एजेन्डा थाहा नभएकाले खासै टिप्पणी गर्नुपर्ने आवश्यक छैन ।’

उनले एसपीपीको विषय सबैभन्दा धेरै आफ्नो पार्टीले उठाएको दाबी पनि गरे । हिजोमात्रै पनि अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रस्ट पारेको रायमाझीले सुनाए । उनले भने, ‘कसको पालामा अघि बढाइएको हो, यो अध्ययनको विषय हो । ०७२ को कुरा गर्दा म पनि उपप्रधानमन्त्री र ऊर्जामन्त्री थिएँ । सायद भीम रावल रक्षामन्त्री हुनुहुन्थ्यो होला, ओली सरकारलाई थाहा थिएन । तथ्य हो भने पुष्टि गर्न ओलीले चुनौती दिनुभएको छ ।’

प्रतिक्रिया