सोमबार, पुष ७, २०८२

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

नेपालखोज २०७९ असार ५ गते ६:५२

टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जंगलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुंगा संकलन गरिरहेका थिए ।

एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ ।

पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जंगली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जंगल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया