शुक्रबार, वैशाख ७, २०८१

स्रष्टा हर्क याक्सोको निबन्ध संग्रह ‘जीवन एक परिभाषा अनेक’ विमोचित

नेपालखोज २०७९ असार ५ गते १५:३२

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा स्रष्टा हर्क याक्सोको निबन्ध संग्रह ‘जीवन एक परिभाषा अनेक’ कृति विमोचन गरिएको छ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, काठमाडौंको आयोजनामा शनिबार भएको कार्यक्रममा स्रष्टालाई सम्मान पनि गरिएको छ ।

कार्यक्रममा कृतिकार हर्क याक्सोको कृतिमाथि विशेष अतिथि डा.फणीन्द्रराज निरौलाले समीक्षात्मक टिप्पणी गरे । उनले निबन्धको अर्थ लगाउँदै निबन्धमा निजी विचार, निजी दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले भने, ‘निबन्ध लोकप्रिय विधा मानिन्छ । बन्धमा ‘नि’ उपसर्ग लागेर निबन्ध भएको हो । निबन्धमा ‘नि’ विशेष प्रकारले ‘बन्द’ विचार, दृष्टिकोण बाँधिएको हुन्छ भन्नुभयो ।’

निबन्ध लेख्ने कलाको सुरुवातकर्ता भोल्तेयरको उदाहरण दिँदै उनले बेलायती निबन्धकार बेकनले वस्तुपरक निबन्धको सिर्जना गरेको बताए । उनले भने, ‘निबन्ध आत्मपरक र वस्तुपरक हुन्छन् । लक्ष्मीप्रसाद देवकोटाको आत्मपरक र समका निबन्ध वस्तुपरक हुन् । यो निबन्ध संग्रह आत्मपरकभन्दा वस्तुपरक निबन्ध हो । अझ यसलाई प्रबन्धात्मक निबन्ध भन्दा राम्रो होला ।’उनले हर्क याक्सोको कृतिमा विविध विषयवस्तुका विविध रचनाहरु प्रस्तुत भएको बताए ।

हर्क याक्सोको निबन्धको सबल र दुर्बल पक्ष केलाउँदै उनले यस निबन्धमा शिक्षासँग, दर्शनसँग, राजनीतिसँग, मनोविज्ञानसँग, भाषा साहित्यसँग सम्बन्धित धेरै विषयवस्तु समेटिएका छन् । कृतिकारले आफूले भोगेका, देखेका, अनुभव गरेका, पढेका कुराहरुलाई यहाँ उजागर गरेका छन् भने सन्तुलित रुपमा वैज्ञानिक विचारहरु प्रस्तुत गरेका छन् । उनले निबन्ध शीर्षक चित्तबुझ्दो नभएको र सन्दर्भ ग्रन्थ दिने अनुसन्धानात्मक विधि पनि नभएकोले कुरालाई ध्यान दिनसमेत सल्लाह दिए ।

यसभित्र कृतिकारले मेरा मन छुने केही कविताहरु भनेर लक्ष्मीप्रसाद देवकोटाको पागलदेखि भूपि शेरचन, वैरागी काइँला, बालकृष्ण सम र वर्तमान जल्दाबल्दा कवि गोपीकृष्ण प्रसाईंको समेत छोटो परिचय र विशेषता कृतिमा उल्लेख गरेको कुरालाई औंल्याए । यसरी स्रष्टाहरुको कृतिको अंश दिँदा सन्दर्भ ग्रन्थ आएको छैन, त्यसले गर्दा यस कृतिको ओज घटेको बताउँदै भाषा सम्पादनतर्फ देखिएका कमी कमजोरीतर्फ पनि ध्यान दिन आग्रह गरे । तैपनि ताप्लेजुङ जस्तो दुर्गम ठाउँमा बसेर याक्सोले दर्शनको चिन्तन, धर्मसंस्कृतिको चिन्तन, शिक्षाको चिन्तन, मनोविज्ञानको चिन्तन, राजनीतिको चिन्तन गर्नु आफैंमा गौरव र प्रशंसनीय काम भएकोले उनलाई धन्यवाद दिने बताए ।

उक्त कार्यक्रममा विशेष अतिथि डा.रामभक्त ठाकुरले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले साहित्यलाई उठाउने, साहित्यकारलाई एक ठाउँमा राख्ने, चिन्तन गर्ने काम गरेकोमा हृदयदेखि नै प्रशंसा गरेका छन् । घट्टेकुलो विकास समाजका संस्थापक अध्यक्ष एवं कलाकार मदनदास श्रेष्ठले भने, ‘समाजका विभिन्न विकृति, विसंगतिलाई साहित्यले उजागर गर्छ । यस हलमा साहित्यिक गतिविधि भइरहोस् भन्ने मेरो चाहनाले सार्थकता पाएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

नेकपा माओवादीका नेता नन्दकुमार प्रसाईंले यस संस्थाले छोटो अवधिमा धेरै महत्वपूर्ण कार्य गरेकोमा धन्यवाद दिन चाहो । उनले आदिकवि भानुभक्त आचार्यले भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको महान योगदानको चर्चा गर्दै पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणबाट नै आज भौगोलिक र साहित्यिक एकताको जग बसेको बताए ।

कृतिकार हर्क याक्सोलाई मनको काँडाको संज्ञा दिँदै उनले त्यस्तो दुर्गम ठाउँमा बसेर पनि याक्सोले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले कृतिकार याक्सोले यो कृति आफूलाई समर्पण गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दै उनको उन्नति र प्रगतिको उत्तरोत्तर कामना गरे । उनले भने, ‘राष्ट्रिय प्रतिभाको रुपमा उदाउनुभएको छ । उनको बढ्दो राष्ट्रिय व्यक्तित्व र कृतित्वको म प्रशंसा गर्दछु ।’

कृतिकार हर्क याक्सोले समाजसेवी, राजनीतिकर्मी, साहित्यकर्मी, कलाकर्मी सबैलाई धन्यवाद दिए । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आफ्नो कृतिलाई यसरी प्लेटफर्ममा राखिदिएर सार्वजनिक गरिदिएकोमा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईलाई धन्यवाद ज्ञापन गरे। उनले हामीले मानवको जन्म लिएपछि समाजका लागि केही दिएर जाऔं, समाजको सेवा गरेर हाम्रो जीवनलाई सार्थक बनाऔं भन्ने कुरा व्यक्त गरे । उनले आफूले चेतनाका लागि पुस्तक लेखेकोले यस पुस्तकभित्रका कुरालाई पढेर कमी कमजोरी औंल्याइदिन आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पूर्वराजदूत टंक कार्की, प्रल्हाद प्रसाईं, ध्रुवनारायण श्रेष्ठ, मुकुन्द प्रसाईं, श्रीकृष्ण प्रसाईं, दीर्घराज प्रसाईं, प्रेम ओली ढकलपुरे, तेजेन्द्र प्रसाईंलगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि के.के. कर्माचार्य, हर्क याक्सो, डा. फणीन्द्रराज निरौला, रतन न्यौपानेलगायत स्रष्टा, व्यक्तित्वहरुलाई सम्मान गर्दै यस प्रतिष्ठानलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तित्वहरुलाई टोकन अफ लभ (मायाको चिनो) प्रदान गरिएको थियो । कार्यक्रममा कविता वाचन, गीत, मुक्तक पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया