शनिबार, जेठ ५, २०८१

अन्ततः १९ सय अंकबाट पनि तल झर्यो नेप्से, ४९ अंकले घट्दा १ अर्ब ७५ करोडको कारोबार

नेपालखोज २०७९ असार ६ गते १५:३९

काठमाडौं । अन्ततः नेप्से १९ सय अंकबाट पनि तल झरेको छ । अघिल्लो दिन ३७ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुनः ४९ दशमलव ३१ अंकले घटेर १८ सय ८४ दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा पुगेको छ ।

दुई सय ३० कम्पनीको ३६ हजार चार सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ हजार नौ सय ४१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब ७५ करोड ६ लाख एक सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकोमा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ५६ अंकले घटेर १३ सय ३४ दशमलव ९७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय ३५ दशमलव आठ अंकले घटेर तीन हजार एक सय ३५ दशमलव ६६ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक ९३ दशमलव ६४ अंकले घटेर दुई हजार ९२ दशमलव ७६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक दुई सय ३९ दशमलव २२ अंकले घटेर सात हजार ६ सय ५३ दशमलव २० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ३४ दशमलव ६२ अंकले घटेर आठ हजार नौ सय नौ दशमलव ४६ अंकमा झरेको छ ।

फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च घटेका छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २१ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा तेह्रथुम पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर चार सय २२ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज प्रभु बैंकको संस्थापक सेयरतर्फ पनि प्रतिकित्ता एक सय ४५ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ८३ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया