बिहीबार, वैशाख १३, २०८१

माण्डु र माइखोला हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपालखोज २०७९ असार ६ गते २०:१४

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको छ । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ ।

यसैगरी, प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ ।

आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।

सम्झौतामा माइखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

आजै प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९८० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया