आइतबार, पुष ६, २०८२

अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग्ने पक्राउ

नेपालखोज २०७९ असार ७ गते १८:२७

काठमाडौं । डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका–१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो ।

कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहीन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो ।

घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो ।

उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया