बिहीबार, चैत १५, २०८०

तीन खर्ब ५१ अर्बको निक्षेप, कर्जा प्रवाह पाँच खर्ब ४२ अर्ब

नेपालखोज २०७९ असार ८ गते १३:२९

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले प्रदेश १ मा निक्षेपभन्दा कर्जा प्रवाह बढी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्वन्धी प्रदेश १ को प्रथम अर्ध–वार्षिक प्रतिवेदनअनुसार उक्त प्रदेशमा निक्षेपको तुलनामा कर्जा झन्डै दोब्बर बढी देखिएको हो ।

प्रतिवेदनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन एक दशमलव चार प्रतिशतले वृद्धि भई तीन खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । २०७८ पुस मसान्तमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर १२ दशमलव तीन प्रतिशत थियो । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह विद्युतीय कारोबारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको हो ।

यसैगरी २०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३० दशमलव एक प्रतिशतले वृद्धि भई पाँच खर्ब ४२ अर्ब पुगेको छ ।

२०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा नौ दशमलव ६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६ दशमलव पाँच प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा नौ दशमलव आठ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव ६० प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९ दशमलव सात प्रतिशत थियो ।

२०७८ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात एक सय ५५ दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमका उल्लेख छ । कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकाले कर्जाको माग तथा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश आठ दशमलव ६ प्रतिशत, बचत निक्षेपको अंश ४५ दशमलव सात प्रतिशत, मुद्दती निक्षेपको अंश ३९ दशमलव सात प्रतिशत र अन्य निक्षेपको अंश ६ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश १० दशमलव आठ प्रतिशत, बचत निक्षेपको अंश ४९ दशमलव छ प्रतिशत, मुद्दती निक्षेपको अंश ३१ दशमलव नौ प्रतिशत र अन्य निक्षेपको अंश सात दशमलव सात प्रतिशत थियो ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या १४ प्रतिशत वृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीहरूको संख्या १२ दशमलव नौ प्रतिशत वृद्धि भई दुई लाख ७५ हजार पुगेको छ । २०७७ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार र ऋणीहरूको संख्या दुई लाख २३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा विपन्नवर्ग कर्जा १६ दशमलव नौ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जा ३३ अर्ब ८ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा विपन्न वर्ग कर्जाको हिस्सा आठ दशमलव आठ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा पुनर्कर्जाको बक्यौता ४६ दशमलव तीन प्रतिशतले वृद्धि भई १५ अर्ब १८ करोड पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जाको बक्यौता ६ अर्ब ४७ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा पुनर्कर्जाको हिस्सा दुई दशमलव आठ प्रतिशत छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा सहुलियतपूर्ण कर्जा २० दशमलव दुई प्रतिशतले वृद्धि भई ३२ अर्ब नौ करोड रुपैयाँ पुगेको छ ।

२०७७ पुस मसान्तमा उक्त कर्जा १६ अर्ब ८५ करोड थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतपूर्ण कर्जाको हिस्सा पाँच दशमलव नौ प्रतिशत छ । २०७८ पुस मसान्तमा प्रदेश १ मा कुल एटीएम संख्या पाँच सय ४९ पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी एक सय ५२ वटा एटीएम रहेका छन् भने खोटाङमा सबैभन्दा कम अर्थात् ६ वटा एटीएम काउन्टर रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया