शनिबार, वैशाख २७, २०८२

चिकित्सकको अनुमति बिना औषधि बेचबिखन गर्ने चार जना पक्राउ

नेपालखोज २०७९ असार ८ गते १३:३५

काठमाडौं । लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भएका ४२ वर्षीय डिलबहादुर कार्की , नुवाकोट ककनी गाउँपालिका–१ स्थायी वतन भएका २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रुपमा औषधिहरु बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

यस्तै, वीरगंज महानगरपालिका–२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ । उनी उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया