बिहीबार, चैत १५, २०८०

पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई भोलिदेखि खोप

नेपालखोज २०७९ असार ८ गते १८:५३

काठमाडाैं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो ।

कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।

उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ ।

उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ । कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ ।

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ ।

प्रतिक्रिया