आइतबार, वैशाख १६, २०८१

आईपीएल क्रिकेट : जडेजा चम्किँदा चेन्नईले बेङ्गलोरलाई हरायो

नेपालखोज २०७८ वैशाख १२ गते १९:५९

मुम्बई । रविन्द्र जडेजा चम्किँदा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको छ । मुम्बईमा आइतवार भएको पहिलो खेलमा चेन्नईले बेङ्गलोरलाई ६९ रनले हराएको हो ।

रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि बेङ्गलोरले हार बेहोरेको हो । यो हारसँगै बेङ्गलोरको अपराजित जितको यात्रा पनि तोडिएको छ, लगातार चार खेल जितेको बेङ्गलोर पाँचौँ खेलमा पराजित भएको छ । ​चेन्नईले अन्तिम ओभरमा ३७ रन जोड्दा जडेजाले पाँच छक्का र एक चौका प्रहार गरे ।

चेन्नईले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनमात्र बनाउन सक्यो । बेङ्गलोरका लागि देवदत्त पडिक्कलले ३४ र ग्लेन म्याक्सवेलले २२ रन बनाए ।

बेङ्गलोरलाई कम योगफलमै रोक्न रविन्द्र जडेजाले चार ओभरमा एक मेडन राख्दै १३ रन दिँदा तीन विकेट लिए । यस्तै इमरान ताहिरले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । चेन्नईका लागि रविन्द्र जडेजाले २८ बलमा अविजित ६२ रन बनाए ।

जितसँगै चेन्नई पाँच खेलमा आठ अङ्कसहित अङ्क तालिकको शीर्षस्थानमा उक्लिएको छ । पाँच खेलबाटै आठ अङ्क जोडेको बेङ्गलोर भने रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया