शनिबार, वैशाख ८, २०८१

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

नेपालखोज २०७९ असार ९ गते १५:२७

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि रु दुई हजार शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँले घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३०० रुपैयाँ रहेकामा एक हजार ६०० रुपैयाँ बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रुपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० रुपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रुपैयाँ रहेकामा दुई हजार ४०० रुपैयाँ बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४०० रुपैयाँ रहेकामा दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको दुई हजार १०० रहेकामा एक हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रतिक्रिया