‘कृषि तथा पशुपन्छी बिमामा अब ९० प्रतिशत अनुदान दिइने’

काठमाडौं । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
बिमा समितिले बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार ९ गते मुखियापट्टी मुसहरनिया गाउँपालिका, तुल्सीयाहीजब्दीमा आयोजना गरेको बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले त्यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष यादवले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको र यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बिमा गर्न नपाएको र बिमा गरेका किसानले पनि दाबी पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकामा बिमा कम्पनीका शाखा कार्यालयहरू विस्तार गर्न तथा बिमा दाबी भुक्तानीलाई सरल एवं छिटोछरितो तुल्याउन आवश्यक व्यवस्था गर्न बिमा समितिसँग आग्रह गरे ।
कार्यक्रमको सभापतित्व गर्दै बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमाको परिचय, महत्त्व, बिमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बिमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिकालगायत विषयमा जानकारी दिएका थिए । निर्देशक लालले किसानहरूले गाउँपालिकामा नै सहज किसिमले कृषि तथा पशुपन्छी बिमा गर्न पाउने र बिमा दाबी भुक्तानी पनि विनाढिलाई समयमै पाउने व्यवस्था गर्न बिमा समिति प्रतिबद्ध रहेको उल्लेख गर्दै दाबी भुक्तानी समयमै नपाए वा बिमासम्बन्धी कुनै समस्या परे समितिलाई जानकारी गराउन आग्रह गरे ।
कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष, सदस्य तथा कर्मचारी, विभिन्न बिमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिरूका साथै कृषक, सर्वसाधारणलगायतको सहभागिता थियो ।







प्रतिक्रिया