बुधबार, वैशाख १२, २०८१

अध्यक्ष नेपाल भन्छन्- आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यक

नेपालखोज २०७९ असार ११ गते १८:४०

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताए ।

‘स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ’, उनले भने, ‘गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ ।’ उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताए । ‘हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन’, उनले भने, ‘तर उम्मेद्वार उठाउने स्थिति कहाँ–कहाँ छ । वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्छ ।’ नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँचदलीय बैठकमा भएको बताए । ‘भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ’, उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्छ ।’ नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताए । उनले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राखे ।

कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको बताए । विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने बताए । कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने बताए ।

पार्टी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताए । कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उनको भनाइ छ । ‘पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ । सङ्गठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ’, उनले भने, ‘आ–आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्छ ।’

उनले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताउनुभयो । महासचिव वेदुराम भुसालले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताए ।

प्रतिक्रिया