शुक्रबार, वैशाख १४, २०८१

मन्त्री आलेले गरे ६ आयोजनाको शिलान्यास

नेपालखोज २०७९ असार १२ गते १२:४९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विभिन्न ६ वटा आयोजनाको शिलान्यास गरेका छन् ।

उनले डोटीको जोरायल गाउँपालिका २ मा रहेको ‘रुपस काँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रूपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत ९ करोड रुपैयाँको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिवजीको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्टलगायत पूर्वाधार एकीकृत रूपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिबद्धता बताए । छिटफुट रुपमा पर्यटकको रोजाइ र गन्तव्य बने पनि कोरोना कहरले थन्किएको र थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए । धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुरसहित पूर्वी नेपालका जिल्लाहरू र छिमेकी मुलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीय शंकर रावलले जानकारी दिए ।

डोटीको बडीकेदार, शैलेश्वरीलगायत खप्तड–मानसरोवरसम्मको विकासका लागि र देशका थुप्रै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठूलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउँपालिका २ का वडाध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवाला, पत्रकारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया