शनिबार, वैशाख २७, २०८२

विभिन्न स्थानमा धनमाल लुटपाट र चोरी !

नेपालखोज २०७९ असार १२ गते १६:५८

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ९ मा रहेको रुपेन्द्र थापाको घरबाट सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, १ थान आइफोन र १ थान आइप्याड गरी करिब ४ लाख ६० हजार रुपैयाँबराबरको धनमाल लुटपाट भएको छ ।

उक्त घरमा अपरिचित ६ जना व्यक्तिले घरका परिवारलाई धारिलो हतियार देखाई आइतबार बिहान उक्त धनमाल लुटपाट गरी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका १, सिरुटार ढलेपिपलस्थित रमा जोशी पौडेलको घरमा रहेको एन्आईसी एशिया बैंकबाट दुईथान सीपीयू, २ थान मनिटर र १ थान सीसीटीभीको ब्याकअपका साथै जोशीको १ थान चाँदीको करुवा, १ थान चाँदीको थाली र ८ थान चाँदीको सिक्का गरी करिब ३ लाख २२ हजार रुपैयाँबराबरको धनमाल शनिबार चोरी भएको छ ।

साथै बैंकमा रहेको २ थान सिसिटिभीको फिक्स क्यामेरा फुटाएको पाइएको छ ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका ६, मलिबराका दिलीपकुमार मिश्रको घरबाट १ थान ल्यापटप, १ थान मोबाइल, १५ तोला चाँदीको लकेट, ४ तोला सुनको पउजु, ५ तोला सुनको हार र अन्य १० तोला सुनका विभिन्न गहना गरी करिब १९ लाख ७० हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

दिलीपकुमार सपरिवार गत सोमबार भारत मुज्जपरपुरस्थित आफन्तको विवाहमा गएको अवस्थामा शनिबार घर फर्की हेर्दा अपरिचित व्यक्तिहरूले घरको ताल्चा फोडी उक्त धनमाल चोरी गरी लगेको भन्ने बुझिएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया