शनिबार, पुष ५, २०८२

यस्ताे रह्याे लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस (फाेटाे फिचर)

नेपालखोज २०७९ असार १२ गते १९:१०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पन्न भएको छ ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतना मूलक पर्चा, पम्प्लेट, झाँकी सहितको प्रभात फेरि र्याली भृकुटीमण्डप, टुँडिखेल, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा गृहमन्त्री खाँणले लागूऔषधसँग सम्बन्धित लेख रचना समेटिएको ‘सुरक्षितजीवन’नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, नेपालप्रहरी सङ्गीत विद्यालय तथा आसरा सुधार केन्द्रलगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्थालपना केन्द्रहरु र दिवसलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गरे ।

कार्यक्रमलाई सम्बोधनगर्दै गृहमन्त्री खाँणले लागूऔषधको अवैध उत्पादन, ओसारपसार, बिक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुनौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरे । साथै उनले सीमित स्रोतका बावजुद लागूऔषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उल्लेख गर्दै लागूऔषध दुरुपयोगको कारण उत्पन्नहुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथध्यान दिनुपर्ने बताए ।

उक्त अवसरमा धन्यवाद ज्ञापनगर्दै गृह सचिव टेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताए । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उनले चर्चा गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयतहसँग समन्वय गरी लागूऔषध सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै आएको उल्लेख गरे ।

दुर्व्यसनमुक्त समाज निर्माणका लागि सम्बद्ध सबै निकायहरु हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । साथै एफडीडीआरको तर्फबाट प्रशान्त शर्मा र रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयालले आ–आफ्नो मन्तव्यव्यक्त गर्दै लागूऔषध नियन्त्रणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया