बिहीबार, पुष ३, २०८२

जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन् : ज्ञवाली

नेपालखोज २०७९ असार १४ गते १९:२४

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाही भएको बताएका छन् ।

७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन चितवनले आज (मंगलबार) आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्रियामा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे ।

एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुुपर्ने बताए । उनले भने, ‘जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौं, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।’ जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउन्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्टलगायतले आ-आफ्नो धारणा राखे ।

यसअघि उपमहासचिव ज्ञवालीले स्व. भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरे । -रासस

प्रतिक्रिया