बुधबार, पुष २, २०८२

कोइराला समूहको निष्कर्ष- सभापति देउवा पार्टीभन्दा गठबन्धनको सभापति बने

नेपालखोज २०७९ असार १७ गते २१:५२

काठमाडाैं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठकले ५ बुँदे निष्कर्ष निकालेको छ । काठमाडौंमा भएको शेखर समूहको बैठकले पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालन गर्न नसकेको र पार्टीभन्दा पनि गठबन्धनको सभापति बनेको निष्कर्ष निकालेको छ ।

दुई दिन चलेको बैठकले प्रधानमन्त्रीसमेत रहेका देउवा गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको छ । ‘अब अहिले सभापति नेपाली कांग्रेसको भन्दा पनि गठबन्धनको सभापति भएर हिँड्नुभएको छ,’ बैठकपछि शेखर समूहका नेता डा. गोविन्द पोखरेलले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधि आफू उहाँहरुको सभापति हुँ भन्ने अनुभूति उहाँले दिन सक्नुभएको छैन ।’

सभापतिमा पराजित भएपछि डा. शेखर समूहले पार्टीमा गुटबन्दी नचलाउने र भागबण्डा पनि नखोज्ने जनाएको थियो । तर पार्टीमा देउवा पुरानै शैलीमा उत्रिन थालेपछि शेखर समूह यसको विरोधमा उत्रिएको हो ।

पोखरेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको बताए । बजेट बनाउँदा चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि कोइराला समूहको निस्कर्ष छ ।

प्रतिक्रिया