बुधबार, पुष २, २०८२

दलीय संगठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : पोखरेल

नेपालखोज २०७९ असार १८ गते २१:२५

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उनले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलापन हुनु उचित नभएको धारणा राखेका हुन् ।

उनले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सहीरूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताए । हरेक विषयलाई सहीरूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्यता हुन आवश्यक भएकाले राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।

उनले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा प्रा रमेश भट्टराई र प्राडा विनिल अर्यालले कार्यपत्रमा विश्वविद्यालयहरुमा चरम राजनीतिक हस्तक्षेप भएको जनाएका थिए ।

प्रतिक्रिया