चूडामणि शर्माविरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आजदेखि गर्ने भएको छ ।
विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो । विशेष अदालतले शुक्रबार प्रकाशित गरेको साप्ताहिक पेशी सूचीमा यी तीन मुद्दा आइतबारका लागि तोकिएको उल्लेख छ ।
शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । विशेष अदालतले फरक विषयवस्तुका राजस्व चुहावट र गैरकानूनी सम्पत्ति आर्जनका मुद्दा समेत एकसाथ (लगाउमा) राख्नु भनी आदेश गरेको थियो ।
अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ ।
उनीहरुविरुद्ध विगो र जरिवाना माग दावी गरिएको रकम प्रतिव्यक्ति १० अर्ब २ करोड रुपैयाँ हुन्छ । एकजना प्रतिवादीमाथि माग दावी गरिएको यो हालसम्मकै ठूलो विगो हो ।
वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् । शर्माले प्रशासन संयन्त्रमा बढुवाको लागि प्रयास गरिरहेका बेला विशेष अदालतले पनि उनीविरुद्धका मुद्दालाई प्राथमिकतामा राखेको छ ।
शर्मा सहित तीन आरोपित विरुद्धको दोस्रो मुद्दा समेत विशेष अदालतमा आइतबारका लागि सुनुवाइको पेशी तोकिएको हो । अख्तियारले ९ असार २०७८ मा कर फर्छ्योट आयोगमा भएको अनियमितताको दोस्रो मुद्दा दायर गरेको थियो । अख्तियारले दोस्रो मुद्दामा तीनजना पदाधिकारी विरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना माग दावी गरेको हो ।
सहसचिव चुडामणी शर्मा विरुद्धको तेस्रो मुद्दा समेत विशेष अदालतले सुनुवाइका लागि तोकेको छ । अख्तियारले शर्मामाथि १५ माघ २०७४ मा ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो ।

प्रतिक्रिया