भगवान् गणेश !

हिन्दुधर्मअनुसार मंगलबार गणेश भगवान्को पूजा-आराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन भन्ने मान्यता छ । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।
यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट सुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने गरिन्छ भने सकेसम्म जीवनभरै लिए अझ राम्रो हुन्छ भन्ने चलन छ । हिन्दु धर्म अनुसारभगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।
गणेश भगवान्को पूजा भनेको कुनै पनि धार्मिक कर्मको आधिकारिक सुरुवात हो । सुरुमा गणेश भगवान्को पूजा नगरी अरु भगवान्को पूजा गरेमा त्यो पूजा असफल हुन्छ भन्ने मान्यता छ । पूजा मात्र होइन, कुनै पनि काम वा यात्राको सुरुवात गर्दा पनि गणेश भगवान्लाई सम्झिने हाम्रो धार्मिक संस्कार छ ।
त्यसैले, जस्तै ठूलो पूजाआजा वा पुराण नै किन नहोस्, हरेक धार्मिक अनुष्ठानको सुरुवात गणेश भगवान्कै पूजाबाट गरिन्छ । अन्य भगवान्बाट आशीर्वाद पाउनसमेत पुज्नुपर्ने गणेश भगवान्को कीर्ति हाम्रा सबै धर्मग्रन्थहरुले यथेष्ट रुपमा बयान गरेका छन् । हामीले साताका अन्य दिनमा गर्ने धार्मिक अनुष्ठान वा अरु भगवान्को आराधानाको प्रतिफल पाउन पनि मंगलबार गणेश भगवानको पूजा नगरी हुँदैन ।
बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । भगवान् गणेशको आराधना गर्दा रातो फूल, फल, तामा, नरिवल दान गर्नुपर्छ । गणेशको व्रत गर्दा गहुँ र सक्खरको भोजन गर्नुपर्ने हुन्छ । वस्त्र पनि रातो लगाउनुपर्छ । एक छाक अलिनो भोजन गर्नुपर्छ ।
प्रतिक्रिया