शनिबार, जेठ ५, २०८१

नेप्सेमा पुनः गिरावट, ४६ अंकले ओरालो लाग्दा २ अर्ब ९६ करोडको कारोबार

नेपालखोज २०७९ असार २१ गते १५:४०

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन नौ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पुनः ४६ दशमलव आठ अंकले घटेर दुई हजार ३० दशमलव ५९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७१ अंकले घटेर तीन सय ८७ दशमलव २३ अंकमा झरेको छ ।

दुई सय २९ कम्पनीको ४९ हजार चार सय १६ पटकको कारोबारमा ८६ लाख १३ हजार चार सय ८९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार हुँदा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव १७ अंकले घटेर १३ सय ६९ दशमलव ९१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय दशमलव ९४ अंकले घटेर तीन हजार चार सय ५३ दशमलव २८ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ५२ दशमलव २३ अंकले घटेर २३ सय ३९ दशमलव ९८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक दुई सय ३९ दशमलव ८७ अंकले घटेर आठ हजार दुई सय ६५ दशमलव ७० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक भने दुई सय १५ दशमलव ९२ अंकले घटेर नौ हजार नौ सय ४९ दशमलव एक अंकमा झरेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय ४३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ६० प्रतिशतले घटेर दुई सय ११ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सानिमा बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया