शुक्रबार, वैशाख १४, २०८१

अब एउटै चक्कीले पानीलाई सफा र पिउनयोग्य बनाउनेछ !

नेपालखोज २०७८ असोज २५ गते ७:३३

काठमाडौं । संसारमा उपलब्धमध्ये ९७.५ प्रतिशत पानी नुनिलो छ भने बाँकी २.५ प्रतिशतमा एक प्रतिशतभन्दा कम पिउन लायक छ । त्यसका अतिरिक्त संसारको एकतिहाइ जनसंख्याले सफा पिउने पानी पाइरहेको छैन ।

संसारका लगभग सबैजसो ठूला सहरमा पानीलाई प्रोसेसिङ गरेर त्यसलाई पिउनयोग्य बनाइन्छ । पानीलाई पिउनयोग्य बनाउने काम निकै खर्चिलो पनि छ । यो समस्या समाधान गर्ने उद्देश्यले वैज्ञानिकहरुले एक हाइड्रोजेल गोलीको आविष्कार गरेका छन् । जसले दूषित नदीको एक लिटर पानीलाई निकै कम समयमा पिउनलायक बनाइदिन्छ ।

यो समस्याको समाधान संसारकै प्राथमिकता
संसारको एउटा ठूलो जनसंख्या दूषित पानी पिउन बाध्य छ । पिउने पानीको समस्या आउने दिनमा यति गम्भीर हुँदै छ कि सन् २०२५ सम्म संसारको आधा जनसंख्या यस्तो इलाकामा हुनेछ जहाँ स्वच्छ खाने पानी पाउननै मुस्किल हुनेछ । त्यसैले पनि संसारभरका वैज्ञानिक तथा इन्जिनियरहरुका लागि यो समस्याको समाधान प्राथमिकताको विषय भएको छ । किनभने सफा पिउने पानीको सीधा सम्बन्ध मानव स्वास्थसँग छ ।

समस्याको यही गम्भीरतालाई मध्यनजर गर्दै अमेरिकाको अस्टिनस्थित टेक्सास युनिभर्सिटीका वैज्ञानिक तथा इन्जिनियरहरुले दूषित पानीलाई तीव्र गतिमा शुद्ध गर्ने हाइड्रोजेल गोली तयार गरेका छन् । वैज्ञानिकहरुको दाबीअनुसार यो एउटा गोलीले नै दूषित पानीलाई विसंक्रमित गरी एक घण्टाभन्दा कम समयमै पिउनयोग्य बनाउँछ ।

ठूलो परिवर्तन ल्याउन सक्छ यो प्रविधिले
एड्भान्स मटेरियल जर्नलमा प्रकाशित यो विषयसँग सम्बन्धित शोधमा ककरेल स्कुल अफ इन्जिनियरिङका वाकर डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङ र टेक्सास मटेरियल इन्स्टिच्युटका एसोसिएट प्रोफेसर गुईहुआ यू तथा उनको टिमले काम गरेको छ । प्रोफेसर गुईहुआ यूका अनुसार उनको मल्टीफङ्क्सनल हाइड्रोजनले अन्तर्राष्ट्रिय जल संकट समाधान गर्ने दिशामा ठूलो परिवर्तन ल्याउनेछ ।

संसारभर प्रचलित विधि
पानी शुद्ध गर्ने सबै राम्रो उपायका रुपमा यसलाई उमाल्ने वा पाश्चराइज गर्ने विधि अहिले संसारभर प्रचलित विधि हो । यता यो नयाँ चक्की (गोली) को खोज गर्ने शोधकर्ताहरुले आफ्नो प्रविधिलाई सहज, सरल, प्रभावकारी तथा ठूलो स्तरमा काम गर्न सक्ने दाबी गर्दै यो एउटा गेमचेन्जर साबित हुन सक्ने कुरा बताएका छन् ।

कसरी काम गर्छ यो गोलीले
आज पानी स्वच्छ बनाउन जुन प्रविधि प्रयोग हुन्छ त्यसमा निकै ऊर्जा, मिहिनेत तथा समय लाग्छ । यो आवश्यक संसाधन र प्रक्रियाहरु नभएका क्षेत्र वा मानिसहरुका लागि व्यवहारिक पनि छैन । यता यो चक्की हाइड्रोजेलले हाइड्रोजन प्याराअक्साइड उत्पन्न गर्छ जसमा ब्याक्टेरिया समाप्त गर्ने क्षमता ९९.९९९ प्रतिशत हुन्छ ।

फाइदाको कुरा
हाइड्रोजन प्याराअक्साइडले एक्टिवेटेड कार्बन का कणहरुका साथ ब्याक्टेरियाका जरूरी कोषिकाहरुमा हमला गरेर त्यसको मेटाबोलिज्मलाई समाप्त तुल्याउँछ । यो प्रक्रियामा कुनै प्रकारको ऊर्जा खपत हुँदैन र यसमा कुनै हानिकारक तत्त्व प्रयोग गर्नुपर्दैन । हाइड्रोजललाई सजिलै पानीबाट निकाल्न सकिन्छ अनि पानीमा यसको कुनै अवशेष पनि रहँदैन । अहिले प्रोफेसर गुईहुआ यूको टिम हाइड्रोजेललाई अलग-अलग प्रकारका रोगाणु तथा भाइरसविरुद्ध प्रभावकारी बनाउने काममा जुटेको छ । त्यसपछि भने यो व्यावसायिक स्तरको उत्पादनमा जानेछ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया