शुक्रबार, वैशाख ७, २०८१

प्रदेश १ मन्त्रिपरिषद्को निर्णय- संरचना र अस्पताल भवन निर्माण पूर्व अनुमतिसम्बन्धी कार्यविधि स्वीकृत

नेपालखोज २०७९ असार २१ गते २०:४८

विराटनगर । प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।

प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार सङ्कलन (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको छ ।

कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रेस संयोजक बन्धु पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया