शुक्रबार, वैशाख २८, २०८१

सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक छु : प्रधानमन्त्री

नेपालखोज २०७९ असार २२ गते १८:३०

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ । प्रधानमन्त्री देउवाले नाडाका प्रतिनिधि मण्डलसँगको भेटमा निजी प्रयोजनका सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताहरूले अब नेपालमै विद्युतीय सवारीसाधनहरूको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझावसमेत दिए ।

छलफलमा अध्यक्ष थापाले भने, ‘नेपालमा पैठारी हुने हजारौं वस्तुमध्ये कार, जिप र भ्यानजस्ता सवारीसाधनहरू मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झन्डै दोब्बरभन्दा बढी राजस्व योगदान पुर्याउने गर्छ ।’ यो तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको थापाको भनाइ छ । उनले यसै यथार्थतालाई मनन गर्दै कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा लागेको प्रतिबन्ध फुकाउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए ।

यसै क्रममा अध्यक्ष थापाले ‘नाडा अटो एक्सपो २०२२’ आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकामा सो आयोजनाका लागि नयाँ सवारी साधनहरूको आयात नियमित हुन आवश्यक भएकाले पनि सो प्रतिबन्ध खुला गरिदिन आग्रह गरेका थिए । भेटघाटमा नाडाका उपाध्यक्ष सुनील रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरू आकाश गोल्छा तथा कपिल शिवाकोटीको उपस्थिति थियो ।

प्रतिक्रिया