शुक्रबार, वैशाख १४, २०८१

पाँचथर सडक : म्याद सकिएको सात महिना भयो, १९ प्रतिशतमात्रै काम

नेपालखोज २०७९ असार २३ गते १०:३७

फिदिम । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके-रवी-बुधबारे सडकको काम लथालिंग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके-रवि–बुधबारे सडकले गति लिन सकेको छैन ।

पाँचथरको राँकेदेखि रवि-छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ । उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन । काम सुरु भएको पाँचवर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ ।

‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन’ , कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने । तीन करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियो । काम २०७८ मङ्सिरसम्म सक्नुपर्ने छ । सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतालगत्तै २०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए । म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन । इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् ।

एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र झरी भएको दाबी गर्छन् । कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार तीन दशकअगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ ।

प्रतिक्रिया