‘नगरकोटीको उपचारमा कमी हुँदैन’

नेपालखोज २०७९ असार २३ गते १४:३२

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न आज (बिहीबार) बिहान बी एन्ड बी अस्पताल पुगेका मन्त्री गहतराजले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री गहतराजले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उनले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमै उपचार गराईरहेकी नगरकोटीलाई भेट्न मन्त्री गहतराज बिहिबार बिहान ललितपुरको बी एन्ड बी अस्पताल पुगेका हुन् । उनलाई केहीदिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया