‘बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउन सहकार्य’

काठमाडौं । बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को संयुक्त आयोजनामा काठमाडौंमा बिमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बिमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस १७) को कार्यान्वयन, नयाँ प्रविधि अवलम्बन र जनशक्ति विकासलगायत विषयमा बिमा समिति र आईक्यानलगायत बिमा क्षेत्रसँग सम्बद्ध संघ–संस्थाहरू आपसी सहयोग एवं सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउन समितिले आईक्यानसँग सहकार्य सुरु गरेको र सहकार्य निरन्तर अगाडि बढ्ने बतए ।
अध्यक्ष सिलवालले भने, ‘बिमा समिति र आईक्यान मिलेर बिमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नैपर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानुनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस १७ कार्यान्वयन गर्नै पर्छ ।’
अध्यक्ष सिलवालले बिमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनएफआरएस १७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बनलगायत विषयमा नियामक निकायलगायत सम्बद्ध पक्षको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्न आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए ।

आईक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बिमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि एनएफआरएस १७ को कार्यान्वयनलगायत विषयमा समन्वय एवं सहकार्यक साथ अगाडि बढ्न आईक्यान तयार रहेको बताए । कार्यक्रममा आईक्यानका कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हाले आईक्यानका काम कारबाही र निकायमकीय भूमिका, बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बिमा समितिका काम कारबाही र नियामकीय भूमिका तथा आईक्यानका परिषद् सदस्य प्रवीणकुमार झाले बिमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीसम्बन्धी छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशकुमार लाल, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बिमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आईक्यानका पदाधिकारी, विभिन्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूलगायतको सहभागिता थियो ।
प्रतिक्रिया