बिहीबार, जेठ २, २०८२

भारतले जापानी पूर्व प्रधानमन्त्री आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने

नेपालखोज २०७९ असार २४ गते २१:५४

नयाँदिल्ली । पश्चिमी जापानको नारा शहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा भारतले जुलाई ९ (शनिबार) एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आबेको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटमा भने ‘जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेप्रति हार्दिक सम्मान प्रकट गर्दै भारतले ९ जुलाई २०२२ मा एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।’

‘मेरा एक प्रिय मित्रको दुःखद निधनप्रति स्तब्ध भएको छु । उहाँको निधनले मेरो पीडालाई मैले शब्दमा व्यक्त गर्न सकिरहेको छैन ।’ शिन्जो आबे विश्वकै नेता तथा कुशल प्रशासक थिए । उनले जापान र विश्वलाई थप राम्रो बनाउन आफ्नो जीवन समर्पण गरे ।

यसैबीच भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले जापानका पूर्व प्रधानमन्त्री आवेलाई आफ्नो असल साथीको रुपमा स्मरण गरे । उनले आफ्ना असल साथीको निधनले आफूलाई अत्यन्त मर्माहत गराएको उल्लेख गर्दै आवेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

आफू प्रधानमन्त्री भएको बेला उनीसँग धेरै काम गर्ने अवसर जुरेको र सधैँ सकारात्मक पाएको स्मरण सिंहले गरेका छन् । भारतका लागि जापानका राजदूत सन्तोषी सुजुकी मार्फत् उनले पठाएकाे शोक वक्तव्यमा उनीसँगको सहकार्यमा भारत र जापानबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरेका छन् ।

जापानको पश्चिमी शहर नारामा चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि आक्रमण भएपछि उनलाई हतार हतार अस्पताल पु¥याइएको थियो । अधिकारीहरूलाई उद्धृत गर्दै प्रारम्भिक समाचारमा जापानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पूर्व जापानी प्रधानमन्त्रीलाई छातीमा गोली हानिएको बताएका थिए ।

तिनीहरूले उनको अवस्थालाई ‘कार्डियोपल्मोनरी अट्याक’ जस्तै देखिएको बताएका थिए । जापानी स्थानीय समय अनुसार दिउसो ५ः०३ बजे उनको निधन भएको थियो । उनको घाँटीमा दुईटा गोली लागेको थियो ।

प्रतिक्रिया