पाटन उच्च बारमा शान्तिराम खतिवडाको प्यानलै विजयी (मतपरिणामसहित)

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनमा एमाले-समाजवादी गठबन्धनका शान्तिराम खतिवडाको प्यानल विजयी भएको छ । खतिवडासहित १९ पदमै पीपीएलए-एसपीएलए गठबन्धन अत्यधिक मतले विजयी भएको हो ।
खतिवडाले १,०६६ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत मात्र पाएका छन् । शनिबार भएको पाटन उच्च बारको चुनावमा १,४९० मत खसेको थियो ।
उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १,०२३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नारायण खरेलले २८४ मत पाएका छन् । सचिवमा रवीन्द्रकुमार ढुंगानाले १,०४८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी शंकरकुमार खड्काले २८३ मत मात्र पाएका छन् ।
कोषाध्यक्षमा मिलन श्रेष्ठले ९६४ मत ल्याउँदै विजयी भए भने निकट्तम प्रतिस्पर्धी मन्दिरा अधिकारीले ३५८ मत मात्र ल्याउन सफल भइन् ।
उच्च अदालत पाटन बारको निर्वाचन समितिका अनुसार महिला सदस्यको पदमा रमिता महर्जन र भवानी भट्टराई गैरे निर्वाचित भए । यस्तै अन्य १२ सदस्यमा ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजित बस्नेत, सुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

पाटन उच्च बारमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एसोसिएसन (एसपीएलए) सहमतिका साथ निर्वाचनमा उम्मेद्वारी दिएका थिए । १९ सदस्यीय उच्च अदालत बार एसोसिएसनमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवारी दिएका थिए ।
कसले कति मत पाए हेर्नुस् मतपरिणाम ?



प्रतिक्रिया