इदले सामाजिक सद्भाव सुदृढ गर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद-उल-अधा (बकर-इद) का अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देशमार्फत उनले इस्लाम धर्मावलम्बीको महान् पर्व इद-अल-अधा (बकर-इद) का अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रतिले विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उनको भनाइ छ ।
उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनका रूपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व बकर इदले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया