गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागु

गुल्मी । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागु गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागु गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए ।
यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागु गर्ने गाउँपालिकाको तयारी छ । ‘पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागु हुन्छ’, उनले भने, ‘पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।’ पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागु गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागु नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
‘कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छ’, उनले भने, ‘संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।’ गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च तीन लाख रुपैयाँ लागेको शाखा प्रमुख शर्माले बताए ।
कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागु गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागु गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताए । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च दुई लाख ५२ हजार रुपैयाँ र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा एक लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागु गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागु गरेको छ । कुल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल तीन लाख ५० हजार रुपैयाँ खर्च भएको उनको भनाइ थियो ।
प्रतिक्रिया